अँध्यारा गल्लीहरूबाट

अश्विनी कोइराला
जीवन गतिशील छ र परिवर्तनशील पनि । यसैभित्र विभिन्न घटना घट्छन् । समय बित्दै जाँदा परिस्थिति परिवर्तन हुनपुग्छ । जसलाई जीवनका अध्याय पनि भन्न सकिन्छ । एउटा पटाक्षेपलाई एउटा घटना मान्ने हो भने जीवन घटनाहरूको सँगालो हो । बाहिरबाट हेर्दा मान्छे सिङ्गो देखिन्छ । तर ऊ सिङ्गो मान्छे होइन, टुक्रा–टुक्रा घटनाहरूको सँगालो हो । एउटै घटना बारम्बार दोहोरिँदैन र त मानिसको जीवन सधैँ सस्पेन्स चलचित्र झँै अनौठो गरी अघि बढ्छ, मृत्युसम्म नै । यो कथा मेरो पनि हो र तपाईंको पनि । अँ, घटना र प्रसङ्ग फरक हुन्छन् र यही घटनाले नै तपाईंको जीवन र मेरो जीवन फरक हो कि भन्ने भान पारिदिन्छ । मानिसभित्रका यस्ता प्रसङ्ग हटाइदिने हो भने तपाईंको जीवन र मेरो जीवनमा कुनै फरक हुने छैन किनभने संसारमा प्रत्येकले टेक्ने धर्ती र खाने अन्न, लिने श्वास र सूर्यको किरणमा कुनै फरक छैन । बाँच्ने जीवनमा फरक छैन, प्रत्येक मानिसले अनुभव गर्ने प्रेम र भोक, शोक र खुसीमा फरक छैन । म कसरी फरक हुन सक्छु र ?
प्रसङ्ग एक–बुबा
पाँच–छ वर्ष हुँदाको अनुभव । स्कुल जान स्वाभाविक रूपमा अल्छी लाग्थ्यो । बुबाले घरमा मलाई पढाउनु हुन्थ्यो, फेरि स्कुलमा गएर किन पढ्ने ? घरमा पनि उही अनुहार, स्कुलमा पनि उही अनुहार । बुबा बाहेक अरू शिक्षक आएर पढाउँदा खुसी लाग्थ्यो । तर दिनमा एक–दुई घन्टा उहाँ हाम्रो कक्षामा  पढाउनु हुन्थ्यो । घरमा जे घोकाउनुहुन्थ्यो, स्कुलमा त्यही कुरा दोहोर्‍याउनु हुन्थ्यो । जुन अरूका लागि नयाँ कुरा हुन्थ्यो होला, मेरो लागि बासी हुन्थ्यो । त्यसैले दिक्क लाग्नु स्वाभाविक थियो ।
‘हजुरले किन स्कुल खोल्नुभएको ?’ एक साँझ दिक्कलाग्दो ‘सात एकान सात’ घोक्दा–घोक्दा हैरान भएको बालकले बुवालाई सोध्यो, ‘स्कुलमा भोलि पनि यही पढ्नुपर्छ, हजुरलाई सुनाउनुपर्छ । मलाई सार्‍है अल्छी लाग्छ ।’
‘तँ साह्रै भाग्यमानी । तैंले एउटै कुरा दोहोर्‍याएर पढ्न पाउँछस्, अरूले कहाँ पाउनु ?’ बुबाले फेरि पढाइकै कुरा गर्दा मेरो चित्त नबुझ्नु स्वाभाविक थियो । मैले भनेँ, ‘हजुरले स्कुल नखोलेको भए कति जाती हुन्थ्यो । मैले स्कुल जानै पर्दैनथ्यो । घरमै पढे पुग्थ्यो ।’
स्कुल बनाउँदा अंशबण्डाका रूपमा हात परेको केही पैसा स्कुललाई दान दिएको कुरा मेरी आमालाई चित्त बुझेको थिएन । बुबालाई उहाँ ‘जग्गा किन्न छाडेर खुब दानी हुन खोजेको’ भनेर कराउनु हुन्थ्यो । यो कुरा मेरो मनमा राम्रैसँग बसेको रहेछ । बुबाले पैसा नदिनुभएको भए त्यो स्कुल बन्दैनथ्यो भन्ने मलाई पछिसम्म लागिरहन्थ्यो ।
‘मान्छे मरेर जाने प्राणी हो । मर्नुअघि केही गर्नुपर्छ । यो स्कुल बनाएर मैले त्यस्तै पुण्यको काम गरेको हुँ । ल हेर, आज सतार–मुसहरका छोराछोरी पनि स्कुल जान थालेका छन् ।’ आमाको गुनासोको जवाफ बुबाले यसैगरी दिनुहुन्थ्यो ।
अंशबण्डाको पैसा मात्र होइन, तलबको केही प्रतिशत रकम पनि बुबाले स्कुललाई दिने गर्नुहुँदो रहेछ । शिक्षकहरूको तलब र स्थानीय समाजसेवीकै कारण कक्षा तीनसम्म पढाइ हुने उक्त विद्यालयले कक्षा पाँचसम्म पढाउने हैसियत बनाएको रहेछ । यो कुरा आमालाई पछि मात्र थाहा भयो । त्यो थाहा पाएको दिन सायद घरमा ठूलो झगडा हुन्थ्यो होला । धन्न कुरा खुल्दा परिस्थिति फरक भैसकेको थियो । जे होस्, श्रीमान् शिक्षक भएर पनि मेरी आमाले सधैँ अभावको जीवन बिताउनुभयो । जब आमाले पैसाको अभावका कुरा गर्नुहुन्थ्यो, बुबा भन्नुहुन्थ्यो, ‘कुनै दिन तेरो श्रीमान्ले लोकको कल्याण गरेको रहेछ भन्ने थाहा पाउँछेस् ।’
२०३८ साल, साउनको महिना । विराटनगर पूर्वको एउटा सामान्य भलुवा खोलामा आएको असामान्य बाढीले बुबालाई बगायो । छुट्टीको दिन घरमा पालेका दुईवटा भैंसी चराउन जानुभएको थियो । बाढी आएको खोला तरेर भैंसीले एकजना किसानको रोप्न ठीक पारेर राखिएका बिउ खान थालेछन् । बुबाले खोलावारि बसेर बिउ नष्ट भएको हेर्न सक्नुभएन । उहाँ खोलमा हाम फाल्नु भयो । जसोतसो खोला तरेर भैंसीलाई वारि पठाउनुभयो । आफूचाहिँ जसरी पारि जानुभएको थियो, त्यसरी वारि आउन सक्नुभएन । तीन दिन तीन रात परेको पानीका कारण बढेको खोलाले बुबालाई सधैंभरिका लागि बगायो । उहाँको लास खोज्न चार दिन लाग्यो । उहाँको लास भेटिँदा पानीले फुलेर जिउ बडेमानको भएको थियो रे । जलाउन समेत सकिएन । भारतको सीमाछेउमै एउटा काँडाघारीमा नअड्किएको भए, सायद म अझै पनि उहाँ जीवितै हुनुहुन्छ भन्ने सोच्थेँ हुँला । दशगजालाई अंग्रेजीमा ‘नो म्यान्स ल्याण्ड’ भनिन्छ क्यारे । नेपाल–भारत सीमाको त्यही ‘नो म्यान्स ल्याण्ड’मा एउटा देशप्रेमी एवं शिक्षाप्रेमी शिक्षक गाडिएको छ । यही कारण मलाई यो नो म्यान्स ल्याण्ड शब्द अंग्रेजी शब्दकोशबाट हटाइदिन मन लाग्छ ।
सात वर्षको कलिलो उमेरमा सेतो धोती लगाएर बुबाको किरिया गरेको दृश्यले गाउँलेलाई नराम्ररी नै छोएछ । गाउँलेहरूको मुखमा विचरा शब्दको बाढी नै आउन थाल्यो । मलाई भने कुशको जनैले भन्दा ‘बिचरा’ भन्ने शब्दले बढी घोच्थ्यो । विचरा शब्द सुन्दा–सुन्दा यस्तो लाग्न थाल्यो, मानौं हामी संसारका सबैभन्दा दु:खी प्राणी हौं । दिदी मभन्दा दुई वर्ष जेठी हुनुहुन्थ्यो । भाइ ४ वर्षको र बैनी २ वर्षकी । ४ चिचिला सन्तानलाई एउटी साक्षर मात्रै भएकी श्रीमतीको जिम्मा लगाएर गाउँका एकजना शिक्षित व्यक्ति अचानक बिलाउँदा गाउँ नै शोकाकुल हुनु स्वाभाविक थियो । यस्तो बेलामा हाम्रा बारेमा यस्ता शब्द आउनु पनि स्वाभाविक नै रहेछ । उतिबेला त्यो भाव बुझ्ने सामथ्र्य ममा थिएन । मनले खालि प्रश्न गर्दथ्यो, हिजोसम्मको प्यारो केटो आज अचानक कसरी विचरा भयो ? हिजोसम्म गाउँको सम्मानित र सबैभन्दा जान्ने म आज सबैको आँखामा असहाय र टुहुरो कसरी भएँ ?
प्रसङ्ग दुई–आमा
जुन शिक्षकले आफ्नो अंशबण्डाको रकमले अन्न खाने खेत नकिनेर विद्यालयलाई दान दिन्छ, जुन शिक्षकले आफ्नो महिनावारी तलबमध्ये केही रकम स्कुललाई नै फिर्ता दिन्छ, उसको परिवार गरिब नभएर के हुन्छ ? सायद, मेरा बुबाले आफ्नो मृत्यु देखिसकेका थिए । समाजलाई चाँडै जे दिन सकिन्छ, दिए । तर उनलाई के थाहा, पेन्सन भैनसकेको अवस्थामा उनको जीवनको अन्त्यपछि परिवारको हालत गाउँकै सबैभन्दा दयनीय बन्न पुग्छ भनेर । ४ सन्तान, अनपढ महिला, जग्गा–जमिन विहीन परिवारले आखिर जे भोग्नुपर्छ, हामीले त्यही भोग्यौं । हामी वर्षमा एकपटक मात्र दसैंमा नयाँ लुगा लगाउन पाउँथ्यौं । वर्षमा एकपटक मात्र मासु खान पाउँथ्यौं । अहिले सम्झँदा अचम्म लाग्छ, घरमा कुनै नयाँ परिकार बन्दा त्यो नयाँ समाचार झैँ गाउँभरि फैलाउन थाल्थ्यौं । त्यसको बढाइचढाइ गरेर रमाइलो मनाउँथ्यौँ ।
यति कुरा जुर्नुमा पनि बुबाकै योगदान छ । कारण, बुबाको योगदानको कदर गर्दै विद्यालय प्रशासनले आमालाई विद्यालयमै जागिर खाने अवसर जुराइदियो । उहाँले एसएलसी पास गर्नुभएको थिएन । अन्डर एसएलसीले पाउने जागिर पियन नै हो । हिजोसम्म जुन शिक्षकले मास्टर्नी बज्यै भनेर सम्मान गर्दथे, आज तिनै मास्टर्नी बज्यैले स्कुलको घन्टी बजाउनु पर्दा धेरैलाई नराम्रो लाग्यो । कतिले फेरि पढेर एसएलसी पास गर्न सुझाव दिए । आमाको जागिरसँगै पढाइ पनि सुरु भयो तर २६ वर्षको उमेरमै होनहार पति गुमाएकी एउटी महिलाले चाहेर पनि पढ्न सकिनन् । जब उनी पढ्न बस्थिन्, अंग्रेजी र हिसाब पुस्तक आँसुले भिजाइदिन्थिन् । महिना दिनमै आँसुले पुस्तक काम नलाग्ने भएपछि पढाउने शिक्षक पनि हैरान भए । उनले भने, ‘भाउजू, यो जुनीमा तपाईंले एसएलसी पास गर्न सक्नुहुन्न । अब छोराछोरीको पढाइलाई ध्यान दिनुहोस् । जे भयो, भयो ।’
त्यसपछि आमाले साहसपूर्वक स्कुलको घन्टी समाउनुभयो । स्कुल लाग्नुअघि नै स्कुल सफा गर्न थाल्नु भयो । स्कुलको कुनै पनि काम गर्न उहाँले आनाकानी गर्नुभएन । जसले जेजे अह्राउँछ, गर्दै जानुभयो । यत्ति हो, जीवनभर उहाँले कुनै पुस्तक खोलेर हेरेको देखिएन । केवल बाहिरको गाता सुम्सुम्याउनुहुन्थ्यो र तुरुक्क आँसु झार्नुहुन्थ्यो । ‘मैले एसएलसी पास गर्न सकिन, तर मेरा सन्तानलाई एसएलसी पास गराएरै छाड्छु ।’ उहाँ यसै भन्ने गर्नुहुन्थ्यो । मलाई याद छ, उहाँले पुस्तक पढ्न छाडेको २५ वर्षपछि मात्रै एउटा पुस्तक पल्टाएर हेर्नुभएको थियो । पुस्तकको नाम थियो– उनी । पुस्तकभित्र समर्पणका रूपमा मेरी आमाको नाम लेखिएको थियो– भद्रशिला कोइराला ।
१५ वर्ष उहाँले त्यही स्कुलमा एकनासले कुनै गुनासो नगरी काम गर्नुभयो । जुन दिन सबैभन्दा कान्छी बहिनीले एसएलसी पास गरिन्, त्यही दिन उहाँले जागिर छाड्नुभयो । उहाँले अचानक जागिर छाडेकोमा हामी छक्क परेका थियौं । जागिर खाउन्जेल उहाँ एक्लो हुनेबित्तिकै रुने गर्नुहुन्थ्यो । जागिर छाडेपछि उहाँको अनुहार सार्‍है उज्यालो हुन थाल्यो । मानिसहरू जागिर छाड्दा दु:खी हुन्छन्, उहाँ खुसी हुनुहुन्थ्यो । एक दिन मैले कुरैकुरामा सोधँे, ‘आमा, तपाईंको हातमा पैसा पर्न छाडेको छ तैपनि खुसी हुनुहुन्छ, किन ?’
उहाँ निकैबेर बोल्नुभएन । यो मौन समयमा उहाँको अनुहार रातो र असजिलो हुँदै आयो । एकै छिनपछि उहाँको आँखा टम्म आँसुले भरिए । साडीको सप्कोले आँसु पुछ्दै भन्नुभयो, ‘स्कुलमा प्रवेश गर्दा मलाई विद्यार्थीले सिस्टर भन्थे । शिक्षकहरूले मास्टर्नी दिदी भन्थे । मेरो सम्मान तेरो बुबाको भन्दा कम थिएन । समय परिवर्तन हुँदै गयो । शिक्षक सरुवा हुँदै गए । नयाँ–नयाँ विद्यार्थी भर्ना हुँदै गए । स्कुलले सरकारबाट प्राविको मान्यता पायो र पछि स्कुल निमावि भयो । यो परिवर्तनसँगै मेरो सम्मानमा पनि परिवर्तन आउन थाल्यो, उल्टोबाट । हिजो मलाई मास्टर्नी दिदी भन्नेहरूले दिदी मात्रै भन्न थाले । पहिले कुनै काम अर्‍हाउँदा अदबका साथ अर्‍हाउँथे । शिक्षक परिवर्तन हुँदै गएपछि ‘यो किन, त्यो किन’, यो के गरेको, त्यो के गरेको भनेर थर्काउन थाले । हिजो तपाईं भन्थे, बिस्तारै तिमी भन्न थाले । मैले कहिल्यै स्कुलको काममा हेलचक्र्याइँ गरिन किनभने त्यो स्कुल मेरो श्रीमान्को पसिनाले बनेको थियो । हाम्रो पुर्खाले दिएको अंशले बनेको थियो । तर यो कुरा कसले बुझ्ने ? हिजो सिस्टर भन्ने विद्यार्थीहरूले ‘पिउनी दिदी’ भन्न थाले । समय बित्दै जाँदा उनीहरूले बिर्सिए, जुन स्कुलको छानो मेरो अंशले भनेको थियो, त्यो छानोमुनि बसेर उनीहरू मेरो सम्मानमा ठेस पुर्‍याउँदै थिए । मेरो आत्मा छियाछिया हुन्थ्यो तर तिमीहरूले एसएलसी पास नगरुन्जेल म अपमान पिउन बाध्य थिएँ । कान्छीले एसएलसी पास गरेपछि लाग्यो, अब घडा भरियो । त्यसभन्दा बढी समय जागिर खाएको भए म आफैंलाई माफ गर्न सक्तिन थिएँ ।’
प्रसङ्ग तीन –उनी
कक्षा नौमा पढ्दै थिएँ । त्यो बेलासम्म सायद आलोकाँचो भए पनि जीवन बुझ्दै थिएँ । नौ कक्षापछि एसएलसीको तयारी शुरु हुन्थ्यो । जुन गोपालप्रसाद रिमालको आमाको सपना कविताभन्दा पनि ठूलो सपना थियो मेरी आमाको । त्यही बेला लाग्यो, यो पढाइले मेरो परिवारको चरम गरिबीलाई पार लगाउन सक्तैन । जेठो छोरो भएका नाताले मैले कमाउन सुरु गर्नुपर्छ । गाउँमा बसेर कमाउन सम्भव थिएन । एक रात मैले नसुतिकन बिताएँ । त्यही बेला कठोर निर्णय गरेँ । घर छाडेर कुनै दूर परदेश पुग्नुपर्छ र पैसा कमाउनु पर्छ । केही वर्ष कठोर परिश्रम गरेर जग्गा किन्नुपर्छ । घर बनाउनु पर्छ र भाइबैनीलाई राम्रो शिक्षा दिनुपर्छ । दिदीको विवाह गर्नुपर्छ । यसरी पढेर केही हुनेवाला छैन ।
यही सोचलाई कार्यान्वयन गर्न भोलिपल्ट राती घर छाडेँ । गौतम बुद्धले दरबार छाडेको प्रसङ्गले मलाई प्रभावित पारेको थियो । ठीक त्यही शैलीमा एक जना गाउँले साथी लिएर हिँडे । १४ वर्षको उमेरमा विदेश के हो, दु:ख के हो, कमाउन के गर्नुपर्छ केही थाहा थिएन । बस्, विदेश गएर पैसा कमाउनुपर्छ भन्ने भूत मात्र सवार थियो ।
घर छाडेर हामी नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै भारत प्रवेश गरेका थियौं । सडक बालबालिकाको जीवन बिताउँदै हामी पहिले दार्जीलिङ पुग्यौं । केही महिना पर्यटकसँग पैसा मागेर जीवन बितायौं । पर्यटकले पैसा दिएको दिन चाँडै मेरा गरिबीबाट मुक्त हुने सपना पूरा हुन्छ झैँ लाग्थ्यो । जसै पर्यटकहरूले हाम्रो वास्ता गर्दैनथे, यसरी जीवन चल्दैन भन्ने लाग्थ्यो । तैपनि मागेरै मैले नौ सय रुपैयाँ जम्मा पारेको थिएँ भने साथीले ६ सय ४५ रुपैंया । म कम खर्च गरेर भए पनि पैसा जोगाउन जोड दिन्थेँ, ऊ खाएर बाँकी रहेकालाई बचत मान्थ्यो ।
त्यो वर्षको दसैं हामीले सडकमै मान्यौं । दुर्गा पूजाको ठिक अघिल्लो दिन एउटा बंगाली पर्यटकले हामीलाई पेटभरि खाना खुवायो । त्यसपछि प्रेमपूर्वक काम गरेर खान सल्लाह दियो । बदलामा हामीले उसैसँग काम माग्यौं । हामी पैसा कमाउन नेपालबाट यता आएको कथा सुनाएपछि ऊ पनि छक्क पर्‍यो । हाम्रो उमेर र उद्देश्य देखेर उसलाई अचम्म लाग्नु स्वाभाविकै थियो ।
मानिस दयालु रहेछ । उसले हामीलाई कलकत्ता लिएर गयो । आफूले खोलेको सानो होटलमा मेरो साथीलाई काम लगायो । मलाई भने घरमै राख्यो । म उसकी श्रीमतीलाई सानोतिनो काम सघाउँथेँ । मेरो साथी उसको पसलमा ग्राहकको सेवा गर्दथ्यो । सुरुमा हामीले केही चोर्छौं कि भनेर ऊ निकै सचेत रहन्थ्यो । हामी चोर थिएनौं । केही महिनाभित्रै उसले यो कुरा बुझ्यो र बिस्तारै उसको गल्लासम्म पहुँच पनि दियो । तर हामी कामबाट हामी सन्तुष्ट थिएनौं । यो पाराले हाम्रो लाखौं कमाउने सपना पूरा हुँदैनथ्यो । गलत गर्न सकिन्नथ्यो । सही काम गरेर माथि उठ्ने सम्भावना थिएन । यही रनाहामा हामीले कलकता छाड्यौं र दिल्लीको रेल चढ्यौं । हाम्रो बाल मस्ष्तिकमा कसैले दिल्लीमा राम्रो पैसा कमाइ हुन्छ भन्ने कुरा हालिदिएको थियो । सपना पछ्याउँदै हामी नयाँ दिल्लीको एकजना धनाढ्यको घरमा कामदार हुन पुग्यौं ।
हो, यहीँबाट मैले घरमा चिठ्ठी पठाएँ, दिल्लीको ठेगाना दिएर । घरबाट एकैपटक तीनवटा पत्र प्राप्त भए । एउटा चिठ्ठी दिदीको थियो । एउटा भाइको थियो र एउटा मेरी प्रेमिकाको । दिदी र भाइको पत्रमा गुनासो र रिस पोखिएको थियो । गालीका प्रशस्त शब्द खर्चिएका थिए । तर प्रेमिकाको चिठ्ठीमा माया मात्र थियो । उनले लगातार तीनवटा पत्र पठाइन् । पत्रमा पढेर मात्र सपना पूरा हुने भएकाले फर्कन आग्रह गरेकी थिइन् । अर्काको घरको काम गरेर कहिल्यै पैसा कमाउन सकिदैन भनेर सम्झाएकी थिई । उसले लेखेका एक–एक शब्द अनुपम थिए । तलब राम्रै थियो, काम सजिलो थियो तर उनको आग्रहमा जुन स्नेह र पवित्रता थियो, त्यसले रातभरि सुत्न दिएन । त्यही रात मैले घर फर्कने निर्णय गरेँ, जसरी घर छाड्दा गरेको थिएँ । पुरानो दिल्लीको चाँदनी चोकको त्यो भव्य महल पनि मैले त्यसैगरी चुपचाप छाडिदिएँ । केही महिनापछि मेरो साथी पनि नेपाल फर्कियो । साथी घर आउँदा मेरो घरबेटीले प्रेमपूवर्क तलब र केही कपडा पठाइदिएका रहेछन् । तीमध्ये एक–दुई कपडा अहिले पनि राखेको छु । मेरा भावी पुस्तालाई यो कथासँगै दिल्लीबाट पाएका यी उपहार देखाउनुपर्छ भन्ने सोच्छु ।
४ वर्षपछि कक्षा नौमा भर्ना हुँदा म भाइसँगै थिएँ । आफूभन्दा साना मान्छेसँग पढ्नुपर्दाको हीनताबोध शब्दमा वर्णन गर्न कठिन छ । तैपनि आमाको छोरो एसएलसी पास होस् भन्ने आशीर्वादले साहस   दिन्थ्यो । प्रेमिकाको सपनाले बल प्रदान गर्दथ्यो । भाइले नजानेका कुरा सिकाइदिन्थ्यो । गाउँभरि सबैले तिमी सानो छँदा निकै जान्ने थियौ । तिमीमा बुबाका जस्ता गुण छन्,  हामीले तिमीबाट ठूलो आशा राखेका छौं भनेर हौस्याउँथे । सबैभन्दा बढी साहस भर्ने काम प्रेमिकाले गर्थिन् । उनको मौन आँखाले केही नभनेरै धेरैथोक भन्थे । म पढेको देख्दा उनको अनुहार खुसीले जसरी नाच्थ्यो, मैले स्कुलमा पढाइमा गरेको प्रगति सुन्दा उनी जसरी आँखाभरि आँसु पार्दथिन्, त्यो देख्दा मलाई लाग्थ्यो, यी आँसुको मूल्य पढेरै चुकाउनु पर्छ, अर्को कुनै उपाय छैन । प्रत्येक सपनामा उनी मलाई सधैं हात समातेर स्कुल पुर्‍याइरहेकी हुन्थिन् । हिजो उनलाई नजानेको कुरा सिकाउँथँे । उनको शिक्षकजस्तै थिएँ । आज उनी मलाई अर्तीबुद्धि दिन थालेकी थिइन् ।
अहिले सम्झन्छु, म एसएलसी पास हुँदा मेरी आमा धेरै रुनुभएको थियो । आमाको आँसु देखेर त्यसको मूल्य अनुमान गर्छु । तर मेरी उनी म पास हुँदा कति खुसी भइन् होला, अनुमान मात्र गर्न सक्छु । उनले अहिलेसम्म त्यो खुसी र त्यो बेलाका अनुभव मसँग बाँडेकी छैनन् । मुटुमा एकअर्काप्रति माया भए पनि  हामी टाढा छौं । तैपनि म बुझ्छु, उनीभरि म भरिएको छु र मभरि उनी अत्तर झैं मनका प्रत्येक कुनालाई सुगन्धित बनाएर लुकेकी छिन् । जुन दिन उनलाई मैले आफ्नो कृति ‘जुकरबर्ग क्याफे’ उनको नाममा समर्पण गरेर लेखेँ, मैले ठूलो बोझ उतारेको महसुस गरेँ । मानिसहरू मलाई महिला र प्रेमका लेखक भनेर सम्बोधन गर्छन् । मैले जानेरै महिला र उनीहरूको प्रेमका विषयमा लेख्छु भनेर आफ्नो लेखन सुरु गरेको थिइन । लेख्दै जाँदा मेरा अक्षरहरूबाट मेरी आमा र उनीप्रति ‘अहोभाव’ प्रकट हुँदै जान्छ । उनीहरूप्रति प्रेम मात्रै बर्सन्छ, जसलाई रोक्न मेरा हात असमर्थ छन् ।
प्रसङ्ग चार–अश्विनी
एसएलसीपछि मैले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गर्नु, कान्तिपुर पब्लिकेसन्समा लेखनकै भरमा फड्को मार्नु र दुई वटा कृति निकाल्नु त्यही पुराना घटनाका परिणाम हुन् । आज पछाडि फर्कंदा लाग्छ, अश्विनी कोइराला अचानक उम्रिएको लेखक होइन । २५ वर्ष अगाडिका स–साना घटनाले उसलाई बनाएको हो । पछिल्ला १०–१५ वर्ष यता ती घटनाका परिणाम मात्रै बाहिर आएका हुन् । र, यो सुरुवात हो । सक्रिय लेखन त बल्ल सुरु भएको छ ।
अरूका कुरा गर्न सजिलो हुन्छ, सबैभन्दा गार्‍हो कुरा कथा लेख्नु हुँदो रहेछ । जीवन भनेको ऐनामा आफ्नो अनुहार हेरेर आफूलाई नापतौल गर्नुजस्तो होइन । बाहिर देखिँदा मान्छे जस्तो देखिन्छ, लेखनमा ठीक विपरीत हुन सक्छ । मान्छेको जीवन के हो ? यस्तै खालका फरक फरक प्रसङ्गहरूका शृंखलाको पुञ्ज हो । हरेक मानिसलाई यस्तै घटनाहरूले एक–अर्काबाट पृथक् बनाएका हुँदा रहेछन् । नत्र संसारभरिका मानिसले टेक्ने धर्ती उही हो, खाने अन्न उही हो । सास फेर्ने हावा र न्यानो लिने सूर्य पनि उही हो ।